|
पुर्वी नेपालका नौ वटा जिल्लाहरु संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्ग, पाँचथर र इलाम, झापा,मोरङ्ग, सुनसरी र धनकुटा लिम्बुवान् अर्न्तगत पर्दछन् । १८३१ सालमा गोर्खाली राजा र लिम्बुबान बिच सन्धि भएपछि मात्र हालको लिम्बुवान नेपालमा गाभिएको इतिहास लिम्बुवानका सबै मुन्धुम विदहरुले मुखैले भन्न सक्छन् । १८३१ साल भन्दा अगाडि लिम्बुवान् स्वायत्त थियो । लिम्बुवानका सबै प्राकृतिक श्रोत र साधनहरु लिम्बुवानमै प्रयोग हुन्थे । ति सबै स्रोत र साधनहरु माथि लिम्बुवान कै हक लाग्दथ्यो । लिम्बुवानसँग आफनै भाषा, आफनै धर्म, आफनै लिपि, आफनै संस्कृति र आफनै इतिहास थियो । १८३१ सालको सन्धिपछि क्रमशः लिम्बुवानको अस्तित्व मेटिन शुरु भयो । यो सवालमा स्वयम लिम्बु जाति र लिम्बुवानबासी अरु भन्दा बढी प्रयोग भए । प्रयोग गर्ने काम शाह वंशवाट भयो । फलत लिम्बुवान यो दुर्दशामा पुगेको हो ।
अहिले लिम्बुवान अत्यन्तै कमजोर अवस्थामा छ । लिम्बुवानमा लिम्बु जातिको जनसंख्या २३.५ प्रतिशत मात्र छ । नौ जिल्लाहरुमध्ये तीनवटा जिल्ला तेह्रथुम , ताप्लेजुङ्ग र पाँचथरमा मात्र लिम्बु जातिको बाहुल्यता छ र अन्य छ वटा जिल्लामा लिम्बु जाति अल्पमत मै पर्छ । लगभग आधा जति लिम्बुलाई लिम्बु भाषा बोल्न आउदैन । लिपि त अत्यन्त न्युनलाई मात्र थाहा छ । संस्कार र इतिहासको बारेमा पनि लिम्बु जाति त्यति बढि जानकार देखिन्न । जन्मदै किरात धर्मावलम्वी लिम्बु जातिका सयौं सन्तानहरु गैर किराती धर्मावालम्बी बनिसकेको अवस्था हामीले देखिरहेका छौ । लिम्बुवानको राजधानी मानिएको धरानमा लिम्बु जातिको जनसंख्या राई जातिको भन्दा थोरै छ । शिक्षा, व्यावसाय, विज्ञान, प्रविधि लगायत प्राविधिक कुरामा पनि लिम्बु जाति अत्यन्तै पछाडि छ ।
लिम्बू जाति र लिम्बूवानवासी कमजोर हुनुमा राज्य सत्ता सबै भन्दा बढी दोषी छ र इतिहास देखि आजसम्म स्वायत्त रुपमा लिम्बुवान रहेको भए अहिले लिम्बुवान काठ्माण्डौ उपत्याका भन्दा बढि विकसित हुन सक्थ्यो । यहाँको भौगोलिक बनावटले यो कुरालाई स्पष्ट रुपमा प्रतिविम्वित गरेको छ । कथित नेपाल एकिकरण पछि राज्य सत्ताले लिम्बु जातिलाई भाषा, धर्म, संस्कार, लिपि र इतिहासबाट पुर्ण रुपले वञ्चित गर्यो । यदि त्यसो नगरेको भए अहिले लिम्बुवान् भित्र लिम्बु जातिकै बाहुल्यता रहन सक्दथ्यो ।
गोर्खाली सेनासँगको युद्धमा शहादत प्राप्त गरेका, पहिलो र दोस्रो विश्वयुद्धमा शहादत प्राप्त गरेका र सिक्किम, दार्जलिङ, हङकङ र युकेमा रहेका लिम्बु जातिको जनसंख्यालाई राज्य सत्ताले जवरजस्ती देश बाहिर खेदाएको लिम्बु जातिको जनसंख्याको रुपमा लिन सकिन्छ । लिम्बु जातिको त्यो जनसंख्या राज्य सत्ताकै दमन र थिचोमिचोको कारणले देश बाहिर गएको हो । हाल सिक्किम र दार्जलिङमा रहेका अधिक्तम लिम्बुहरु १८३१ को सन्धि पछि गोर्खाली दमन सहन नसकी देश छोडेर गएकाहरु हुन् ।
लिम्बुुवानमा अर्को पनि ठुलो समस्या छ । त्यो के भने लिम्बु जाति भित्र एकताको भावना अझै सम्म पनि विकसित भईसकेको छैन । कतिपय लिम्बुहरु आफुलाई सुब्बा भन्छन् तर सुब्बा भन्ने शब्द जाति होइन् पद मात्र हो । सुब्बा पदवी कै कारण बिगतमा लिम्बु जाति भित्र वर्गको जन्म भएको हो । हुने खानेहरु सुब्बा भए नहुने र गरीबहरु लिम्बु नै रहे ।तर आज समग्र लिम्बु जाति लिम्बुवानको निर्णायक युद्ध लडन तयार छ । यो पक्ष संबिधानसभाले बुझछ र सम्बोधन गर्छ भन्ने कुरामा चालिस लाख लिम्बुवानवासी जनतामा पूर्ण विश्वास र भरोसा छ ।
अत्यन्तै खतरनाक र भयानक कुरा भनेको लिम्बुवान राज्य युद्ध भूमिमा परिणत हुन्छ कि भन्ने हो । यदि संबिधानसभाले लिम्बुवान लेखेन भने लिम्बुवान राज्य युद्ध भूमिमा बदलिन्छ भन्ने कुरामा कुनै शंका छैन । यो कुरा राजनीतिक कोणबाट हेर्दा देखिन्छ । अहिले सामाजिक कोणबाट पनि देखिन थालेको छ । लिम्बुवान हाम्रो प्राण हो भन्ने नारा अहिले लिम्बुवानमा सबैभन्दा बढी लोकप्रिय शब्द बनेको छ । यो नारालाई मुल्याङकन् गरेर गैर लिम्बु जातिहरु पनि लिम्बुवान स्थापनामा अत्यन्तै सकारात्मक हुनु पर्छ । अनि मात्र लिम्बुवान आम लिम्बुवान वासीको र्सार्वभौम बन्ने चाहना हो भन्ने कुरा स्पष्ट हुन्छ ।
अव लिम्बूवानको लर्डाई निर्णायक मोडमा उभिएको छ । यो निर्णायक अवस्थामा सहि निर्णयलिन आम लिम्बूवानवासी जनता तयार हुनु पर्छ । लिम्बूवान आउछ-आउछ भन्ने मान्यतामा अडिग चालिस लाख लिम्बूवानवासी जनतामा संविधान् सभाले घात गर्दैन भन्ने कुरामा यदि कसैलाई विश्वास छ भने पनि र्सतक चाहि रहनु पर्छ । भोलि संविधान सभामा लिम्बूवान विरोधीहरु पनि हुन सक्छन् । संविधान सभामा लिम्बूवान विरोधीहरुको संख्या वहुमत भयो भने लिम्बूवान विरुद्घ षडयन्त्र हुन सक्छ । अथवा संविधानमा लिम्बूवान नलेखिन पनि सक्छ । यो अवस्थामा लिम्बूवानलाई प्राण ठान्ने लिम्बूवान वासीले हलचल गर्नै पर्ने हुन्छ र हलचल भए पछि युद्घ हुन्छ । सवैलाई के थाहा छ भने युद्घमा जनताको जित हुन्छ । अथवा यो युद्घमा लिम्बूवानको जित हुन्छ ।
अहिले लिम्बूवान वौद्घकि र भौतिक दुइवटै तयारीका साथ राजनीतिक रुपले प्रस्तुत भएको छ । लगभग पाँच हजार भन्दा बढी सवारी साधनहरुमा लिम्बूवान राज्य लेखिएको छ । लगभग दशौं हजार स्थानका भित्ता, ढुङ्गा, रुख र वाटोहरुमा लिम्बूवान् राज्य लेखिएको छ । सैयौं स्थानमा लिम्बूवानको झन्डा गाडिएको छ । सरकारी कार्यलयहरुमा लिम्बू लिपिमा लेखिएका वोर्डहरु झुन्डर्याईएका छन् । लिम्बूवानको मुटु धरानको भानुचौकमा लिम्बूवानको नक्सा अंकित वोर्ड राखिएको छ । यी सबै गतिविधिहरु र क्रियाकलापहरुले लिम्बूवान स्थापनाको संकेत दिन्छन् । यसरी सबै तिरवाट लिम्बूवान स्थापनाको राजनीतिक आधार तयार भइसकेको छ ।
राजनीतिशास्त्री गार्नरको शव्दमा- "ईतिहास र राजनीति एक अर्को संग सम्वन्धित हुन्छन्"। हरेक राजनीतिक निर्णयको आधार इतिहासलाई वनाउन सकिन्छ । यो कोणवाट मुल्लाङ्कन गर्दा १८३१ सालको सम्झौता भन्दा एक सेकेण्ड मात्र अगाडि फर्किने हो भने पनि त्यहाँ लिम्बूवान थियो । तर्सथ इतिहासमा लिम्बूवान थियो र त्यहि लिम्बूवान आजको आवश्यकता भएको हो । यदि इतिहासमा लिम्बूवान नभएको भए त्यो आजको आवश्यकता वन्न सक्दैन थियो । ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार शहितको लिम्बूवान जातिय स्वायत्त गणराज्य स्थापना गर्ने जुन सवाल छ त्यसको प्रमुख आधार भनेको इतिहास नै हो । लिम्बूवान स्थापना आजको राष्ट्रिय राजनीतिक एजेण्डा हो । सबै दल, नागरीक समाज र संघ-संस्थाहरुले लिम्बूवान स्वीकार गरी सकेको अवस्था छ त्यसैले लिम्बूवान स्थापनाको लागि छुट्टै दल दर्ता गरेर चुनाव लड्नु पर्ने कुनै आवश्यकता छैन ।
लिम्बूवान् स्थापना भइसकेपछि लिम्बूवान राज्य भित्र विधिको शासन लागु गर्न र कानुनी राज्यको मान्यता स्थापना गर्न बहुदलिय राजनीतिक प्रणलीलाई अझै बढि प्रभावकारी वनाउनु पर्छ । राज्य संयन्त्रमा यँहाका सवै जाती, वर्ग, लिङ्ग,र समुदायलाई समानुपातिक प्रतिनिधित्व गराउनु पर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक हक र अधिकार मानेर शुनिश्चित गर्नु पर्छ । आर्थिक विकाश गर्न व्यावशाय र औद्योगिकरण तर्फ अत्यन्तै ध्यान दिनु पर्ने हुन्छ ।लिम्बूवानमा पर्यटनको सम्भावना अत्यन्तै बढि छ । यातायात, विद्युत, सञ्चार र खाने पानी व्यावस्थापनमा लिम्बूवान राज्यले अत्यन्तै छिटो फड्को मार्न सक्छ ।विधीको शासन स्थापित भइसकेपछि लिम्बूवान राज्यले स्पष्ट आर्थिक नीति लिन सक्यो भने लिम्बूवान राज्य दश वर्षभित्र मै अत्यन्तै विकशित, शान्त, समुन्नत र नमुना राज्यको रुपमा स्थापित हुन सक्छ ।
अतः लिम्बूवान राज्य स्थापना हुने निश्चित छ । अब लिम्बूवान वासी सवैले लिम्बूवानको लागि चिन्तित वन्ने वेला आएको छ । लिम्बूवान वासी जनाताको महान सोचाइले नै लिम्बूवानलाई महान र सफल बनाउछ । लिम्बूवानको भविष्य निश्चित गर्न र अगाडि वढाउन आज देखि नै लिम्बूवानले निर्माण प्रकृया अगाडि बढाउने बेला भएको छ ।
लेखक लिम्बूवान प्रान्तिय राज्य परिषदका केन्द्रिय अध्यक्ष हुनुहुन्छ ।
|