संसदको गतिरोध हटाउन राष्ट्रिय जनमुक्ति पार्टी सहित २४ दलको वैठक राजधानीमा सम्पन्न । राजमुपा अध्यक्ष तथा सभासद एमएस थापाद्वारा सदनको गतिरोध तत्काल हटाउन आग्रह । नेपालमा पनि स्वाइन फ्लू रोगको जिवाणु देखा पर् यो । एसएलसी परिक्षामा ६८.४७ प्रतिशत उक्तिर्ण ।

 

12 Aprl 2010

 
सदाग्रह र हिन्दूत्व

सिके लाल

हिन्दूहरूको पुरानो चलनअनुसार ब्राह्मण महात्मालाई मात्र 'स्वामीजी' भन्न मिल्छ। हिन्दू वर्णाश्रम व्यवस्थाका अन्य जातजातिका व्यक्तिले जतिसुकै ठूलो अध्यात्मिक, धार्मिक वा कर्मकाण्डीय पद प्राप्त गरे पनि तिनले पाउने सर्वोच्च सम्बोधन 'महाराजजी' मात्र हो। त्यस अर्थमा योगगुरु रामदेव पनि महाराजजी हुन्, तथाकथित 'जगतगुरु' कृपालुजी महाराजजस्तै। कालीबाबा भने दहाल थरका जैसी हुन् रे, उनलाई स्वामीजी भन्न मिल्छ वा मिल्दैन भन्ने कर्मकाण्डका विद्वान्हरूले निर्क्यौल गर्ने हो। तर हातहतियारको व्यापारदेखि विदेशी मुद्रा अपचलन एवं राजनीतिक भ्रष्टाचारदेखि कूटनीतिक दलालीसम्मका मुद्दामा मुछिएका एकजना स्वघोषित स्वामीले किन नेपालमा रुचि देखाउन सुरु गरेका होलान्? भारतलाई 'हिन्दू राष्ट्र' घोषणा गराउन असफल भारतीय जनता पार्टीका पूर्व अध्यक्ष किन नेपाललाई धार्मिक कट्टरता अपनाउन सल्लाह दिन पछि पर्दैनन्? रामदेव एवं राजनाथ सिंह त खुलारूपमै राजनीति गर्ने व्यक्ति भए। चिन्ता भने धर्मका नाममा छद्म राजनीति गर्ने भारतीय गुरु, स्वामी एवं महाराजहरूको बाक्लो काठमाडौं आवतजावतले उत्पन्न गराएको छ। लाग्छ, महाराष्ट्र, कर्णाटक एवं गुजरातजस्ता भारतीय प्रान्तमा व्याप्त 'हिन्दूत्व' महारोगको संक्रमण नेपालको ढोकैसम्म आइपुगेको छ। बेलैमा सतर्कता अपनाउन सकिएन भने हिन्दू धर्मलाई नै समाप्त पार्ने अवस्था निम्तिन सक्छ।
हिन्दू धर्मले तेत्तीस कोटी देवतालाई मान्नेलाई मात्र होइन, ईश्वरको अस्तित्वलाई समेत अस्वीकार गर्ने व्यक्तिलाई पनि अधर्मी त के विधर्मीसम्म भन्दैन। त्यस अर्थमा 'हिन्दूत्व' जीवनशैली हो, संस्कृति हो, र, समग्रतामा 'जम्बु द्विपे, महाभारत खण्डे' भूक्षेत्रको सभ्यता हो। हिन्दू अंग्रेजी भाषाको 'रिलिजिअन' होइन, जुन शब्दको उत्पति बाँध्ने अर्थ लाग्ने रेलिगेओरेबाट भएको मानिन्छ। हिन्दू धर्ममा कुनै पुस्तक, पैगम्बर वा धर्मगुरुको प्रधानता छैन। व्यक्तिगत अनुभवको कुरा गर्ने हो भने यो पंक्तिकारले रामायण, महाभारत वा श्रीमद्भागवत गीता पाठ गर्नु त परै जाओस्, समान्यरूपमा पढेका 'हिन्दू' पनि थोरैमात्र भेटेको छ। हो, कथाहरूले भने वाचन परम्परामा निरन्तरता पाएका छन्। टेलिशृंखला एवं भजन गायकहरूले अंगराज कर्णदेखि पवनसूत हनुमानसम्मलाई लोकप्रिय बनाएका छन्। नेपाललाई 'धर्म निरपेक्ष' घोषणा गरेदेखि हिन्दू कर्मकाण्ड एवं परम्परामा खलल पुगेको छैन। अनि किन नेपाललाई पुनः 'हिन्दू राष्ट्र' बनाउनुपर्ने राजनीतिले गति लिन थालेको छ त? यस प्रश्नको उत्तर धर्मका नाममा गरिने दक्षिणपन्थी राजनीतिभित्र खोज्नु पर्ने हुन्छ।

हिन्दू र हिन्दूत्वः

महात्मा गान्धी जत्तिको आस्थावान हिन्दू जति खोजे पनि भेट्टाउन गाह्रो छ। उनको अग्रसरतामा सञ्चालित स्वतन्त्रता आन्दोलनले संसारको सबभन्दा शक्तिशाली सम्रज्यवादी राष्ट्रको चंगुलबाट संसारको सबभन्दा ठूलो उपनिवेश मुक्त गरायो। विडम्बना, उनी हिन्दू अतिवादीद्वारा मारिए। महात्मा गान्धीले अभ्यास गर्ने 'सर्व धर्म सम भाव' 'एकम् सत्य, विप्रा बहुधा बदन्ते' जस्ता आस्था एवं विश्वासलाई हिन्दूत्वको एकलकाँटे अवधारणाबाट जोगााउनसमेत राज्य 'सेक्युलर' हुन जरुरी छ। अतिशयोक्तिजस्तो लाग्न सक्छ, तर हिन्दू समाजमा अर्को गान्धी जन्मिउन् वा कतै जन्मिसकेका छन् भने कुनै हिन्दूत्ववादीद्वारा नमारिउन् भन्ने सुनिश्चित गर्ने आधार 'सेक्युलरिज्म' मात्र हुन सक्छ।

एकल उद्धरण चिन्हभित्र प्रयोग गरिएका अंग्रेजी शब्दहरू 'सेक्युलर' एवं 'सेक्युलरिज्म' क्रमशः हिन्दी भाषाको सिको गर्दै नेपालीमा पनि धर्म निरपेक्ष एवं धर्म निरपेक्षता बनाइएका छन्। प्रयोगको व्यापकताले गर्दा 'सेक्युलर' र धर्म निरपेक्षता परस्पर विरोधी अवधारणा हुन् भन्ने दाबी गर्नसमेत मुस्किल हुन गएको छ। तर, 'सेक्युलरिज्म' पक्षधरता हो, विचारधारा हो। धर्म निरपेक्षता कदापि होइन। सेक्युलरिज्मले धार्मिक स्वतन्त्रता सुनिश्चित् गर्छ। धर्म निरपेक्षता वा धर्म तटस्थ व्यक्ति कुनै पनि समाजमा बिरलै हुन्छन्। धार्मिकता वा अध्यात्मिकता सामान्य व्यक्तिहरूमा स्वभाविक हुन्छ। त्यसैले महात्मा गान्धी 'सर्व धर्म सम भाव' अवधारणालाई समर्थन गर्थे। त्यसर्थ सेक्युलर र सेक्युलरिज्म शब्दहरूलाई बरु 'सदाग्रह' र 'सदाग्रहता'का रूपमा अर्थ्याउने हो कि? तर, मूल कुरा भने शब्दमात्र होइन, आस्थाको हो।

हिन्दू सभ्यताबाट बौद्ध एवं जैन धर्म जन्मिएका हुन्। संसारमा सबभन्दा धेरै मुसलमानहरू 'जम्बु द्विपे, महाभारत खण्डे' भूक्षेत्र (अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, बंगलादेश, तिब्बत र बर्मा)भित्र बसोबास गर्छन्। यस भूखण्डभित्र प्रचलनमा रहेका धर्म, सम्प्रदाय, आस्था एवं विश्वासको सूची बनाउने हो भने सम्भवतः त्यस्तो विविधता संसारमा अन्त कतै पाइँदैन। तापनि हिन्दू धर्म बाँचेको मात्र होइन, फस्टाएको छ। किन त? किनभने विविधता र सहअस्तित्व हिन्दू धर्मको मूलभूत चरित्र हो। हिन्दूत्ववादीहरू त्यसै भावलाई समाप्त पार्न चाहन्छन्। त्यसैले हिन्दू धर्मका लागि सबभन्दा ठूलो खतरा हिन्दूत्ववादी हुन्।

डा. ज्योर्तियमय शर्मा हैदारावाद विश्वविद्यालयमा राजनीतिक दर्शनका प्रध्यापक हुन्। उनले पत्रकारिता जीवनकाल (उनी टाइम्स अफ इंडिया, हैदरावादका आवासीय सम्पादक रहिसकेका छन्।) देखि नै भारतमा हिन्दूत्वको विस्तारलाई सूक्ष्मताका साथ अध्ययन गरेका छन्। डा. शर्माको निर्क्योल के छ भने हिन्दूत्व विचारधाराको उत्पत्ति भारत वर्षमा प्रकृतिकरूपमा भएको होइन। सत्रौँ र अठारौँ शताब्दीको युरोपेली राष्ट्रवादबाट अभिप्रेरित अखण्डानन्द-विवेकानन्द परम्परालाई पछ्याउँदै राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक माधव सदाशिव गोलवालकर (सन १९०६-१९७३)ले उग्रवादी हिन्दूत्वको परिकल्पना गरेका हुन्। गोलावालकरको व्याख्याअनुसार अहिंसा कायरता हो र सहअस्तित्व हिन्दूहरूको कमजोरी ढाक्ने पछ्यौरा। राष्ट्रिय स्वयंसेवक संघको हिन्दूत्वमा हिंसा जायजमात्र नभएर जरुरी तत्व हो पुनर्जागरणकालका लागि। हिंसाको प्राथमिकता बारे त्यस्तो हिन्दूत्ववादी व्याख्या मुसलमानहरूको तालिवान राजनीतिका र माओवादी विचारधारासँग पनि मिल्दोजुल्दो छ।

नेपालमा हिन्दूत्वको चहलपहल नियमित आकस्मिकता मात्र नहुन पनि सक्छ। फलामलाई फलामले काट्छ भन्ने अवधारणाअनुसार माओवादी हिंसाको प्रतिरोधसवरूप योजनाबद्धरूपमा हिन्दूत्वलाई बढावा दिने नीति लिइएको हो भने त्यस्तो रणनीतिका प्रभावहरू भयावह हुन सक्छन्।

वामविरुद्ध राम

गरिबी र असमानताको दोहरो मारले आवाजविहीन बन्न पुगेका विपन्न भारतीय जनतालाई महात्मा गान्धीले राम र रहिमका नाममा जागृत तुल्याउने प्रयत्न गरेका थिए। हिन्दूत्ववादीले उनको हत्या गरेपछि दलित, शोषित एवं पीडितहरू पनि कालान्तरमा लोकतान्त्रिक अभ्यासबाट लाभान्वित हुने नै छन् भन्ने जवाहरलाल नेहरूको विश्वासले गर्दा समाजिक जागरणका छुट्टै आन्दोलन सञ्चालन गर्ने आवश्यकता उनको दलले देखेन। केरल र पश्चिम बंगालमा वामपन्थी राजनीतिक उद्यमीहरूले शोषितहरूलाई संगठित गर्ने प्रयत्न गर्दा तिनलाई जाति, भाषा र संस्कृतिका नाममा विभाजित गरेर तुहाइयो। धर्मको मामलामा भने नेहरूमात्र होइन उनकी छोरी इन्दिरा गान्धी पनि मूलतः सदाग्रही (सेक्युलरिस्ट) थिए। त्यसैले धर्मलाई मूल राजनीतिक मुद्दा बनाउनेहरूले अझै पनि भारतीय मूलधारमा प्रतिष्ठा पाउन सकेका छैनन्।

धर्मलाई राजनीतिक औजारको रूपमा सबभन्दा सफल प्रयोग अफगानिस्तानमा भएको हो। अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले त तालिवानका मुल्लाहरूलाई आफ्ना राष्ट्रिय पुर्खाहरू (फाउन्डिङ फदर्स) सँग नै तुलना गरे। हुन पनि कट्टरपन्थी इस्लामको आगोले सोभियत संघरूपी फौलादी किल्लालाई पगालेर अफगानिस्तानबाट बगाइदियो। तर, त्यस दावानलमा अफगानिस्तानसमेत खरानी भयो। धर्मलाई राजनीतिक औजार बनाउँदा उत्पन्न हुने अनपेक्षित प्रभावबाट अमेरिका स्वयं मुक्त हुन सकिरहेको छैन। अफगानिस्तानमा जे गति सोभियत संघको भयो, त्यस्तै परिणति संयुक्त राज्य अमेरिकाले पनि भोग्नुपर्ने छैन भन्ने कुनै ग्यारेन्टी छैन। पाकिस्तानमा इस्लामी कट्टरपन्थीहरूको बोलवाला छ, त्यसैले त्यहाँ वामपन्थीको प्रभाव छैन।

अफगानिस्तान तथा पाकिस्तानको अनुभवबाट उत्साहित केही भारतीय औद्योगिक धरानाका राणनीतिकारले आफ्ना ठूलो लगानी भएको महाराष्ट्र गुजरात क्षेत्रमा 'वामविरुद्ध राम' राजनीतिलाई प्रबर्दन गरेका हुन्। विहार तथा उत्तर प्रदेशतिर भने अपेक्षाकृत अराजक प्रियतावादी राजनीतिकर्मीलाई वामपन्थी ठेगान लगाउने जिम्मा दिइएको छ। नेपालको सम्भाव्य जलस्रोतमा आँखा गाडेका भारतीय पँुजीपतिहरूको विचारमा नेपालमा वामपन्थी संक्रमण धेरै नै फैलिइसकेको छ। त्यसैले वामविरुद्धको मोर्चाबन्दीमा राम ( हिन्दूत्व) एवं नाम (प्रियतावाद)को 'फ्युजन' नगरेसम्म माओवादको सम्भाव्य प्रभाव विस्तारलाई रोक्न सकिँदैन। त्यसो हो भने बाबा रामदेव, पूर्व मन्त्रिपरिषद् अध्यक्ष ज्ञानेन्द्र शाह, विवादित पूर्व सेना प्रमुख रुक्माङ्गद कटुवाल एवं 'सन्त नेता' कृष्णप्रसाद भट्टराई हावामा खुकुरी नचाइरहेका छैनन्।


सुनिएअनुसार अगामी निर्वाचनभन्दा पहिले सम्भाव्य माओवादी वर्चस्वलाई रोक्न सक्ने उही शैली र प्रकृतिको दक्षिणपन्थी राजनीतिक शक्ति निर्माण नभएसम्म नयाँ संविधान बन्ने वा लागू हुने सम्भावना छैन। त्यस्तो राजनीतिक शक्ति हिन्दूत्ववादमा आधारित उग्र राष्ट्रवादी दलमात्र हुन सक्छ। हिन्दूत्वको विचारधाराले उदीयमान मधेशका जातजाति तथा पहाडका स्थापित समूहलाईसमेत जोड्ने अपेक्षा राख्नु अस्वाभाविक पनि लाग्दैन। तर, के त्यस्तो खाले अतिवादी राजनीतिले वामपन्थीलाई मात्र डढाउँछ र? सम्भवतः हिन्दूत्वको आगोमा सबभन्दा पहिले शान्तिपूर्ण राजनीतिमा विश्वास राख्नेहरू समाप्त हुने छन्।


प्रतिद्वन्द्वीहरूको राजनीतिलाई निष्प्रभावी बनाउने धुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल कहिले पुराणका प्रसाद थाप्न जान्छन् त कहिले भैँसी पूजा गर्न पुग्छन्। अझ त्यतिले नपुगेर एकाबिहानै सार्वजनिक चौरमा स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्न पनि अप्ठ्यारो मान्दैनन्। तर त्यस खेलमा उनी जिते पनि हार्नेछन्। उनी मोहनचन्द्र अधिकारी जस्तो अध्यात्ममा लाग्दैमा चरम दक्षिणपन्थी हिन्दूत्व राजनीतिको चुनौती समाप्त हँुदैन। हिन्दूत्ववादीहरू गोलबन्द भइरहेको अवस्थामा सदाग्रही राजनीतिमा विश्वास गर्नेहरूले पनि आफ्ना आस्थाप्रति दृढ रहन जरुरी छ।

हिन्दू 'बाँध्ने' रिलिजियन होइन, मुक्त गर्ने धर्म हो। स्वतन्त्रताको जीवनशैली हो। नेपाल सदाग्रही राज्य बन्नु संसारलाई सन्देश हो कि हिन्दू धर्मलाई राज्य संरक्षण चाहिँदैन। यो धर्म जनजनको नाममा हिन्दू धर्मलाई विजय गच्छेदार, खुमबहादुर खड्का वा कमल थापाहरूको हतियार बन्न दिइनु हँुदैन। त्यस्तो भिडन्तले भयावह हिंसा र प्रतिहिंसा निम्त्याउन सक्छ। धर्ममा सदाग्रह र राजनीतिमा सत्याग्रह शान्तिको संस्कृतिका मुख्य अवयव हुन्। जनमत नै गर्ने हो भने सदाग्रहिता (सेक्युलरिज्म) र धर्म निरपेक्षता (रिलिजिअस् न्यूटलिज्म)का बीच मत संकलन गरे हुन्छ। हिन्दूत्व भने कदापि स्वीकार्य हुन सक्दैन।

 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008
Best View at 800 x 600 Pixel Resolution